भन्सार छलेर ल्याउँदै गरेका भैंसीसहित चार जना पक्राउ
<p>काठमाडौं। वीरगञ्ज महानगरपालिका-२८ मा भन्सार छली ल्याउँदै गरेका करिब ११ लाख ८६ हजार रूपैयाँ बराबरको भैंसीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-३२ परसवा बस्ने ३० वर्षीय सञ्जय राउत, सोही महानगरपालिका-२८ बगही बस्ने ४२ वर्षीय सञ्जय गिरी, पर्साको साविक औराहा गाविस-८ सिसइ बहुअरी बस्ने ३२ वर्षीय जङ्गबहादुर राउत र सोही ठाउँ बस्ने ३५ वर्षीय वीरप्रसाद यादव रहेका छन्।</p>
<p>जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.४ च ८३९४ नम्बरको गाडीमा भारतबाट भन्सार छली ल्याउँदै गरेका भैंसीसहित फेला पारी पक्राउ गरेको जनाएको छ।</p>
<p>उनीहरूलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
