खाँदबारीका विभिन्न स्थानमा वर्षा र पहिरोले क्षति
<p>संखुवासभा। जिल्लाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याएको छ। लगातार परेको वर्षासँगै आएको पहिरोले खाँदबारी नगरपालिका-६ तल्लो पाङ्ठामा एक घर पुरिँदा एकजना गम्भीर घाइते भएका छन्। </p>
<p>पहिरोले घर पुरिँदा खाँदबारी-६ का शान्तिबहादुर खत्री घाइते भएका हुन्। उनलाई स्थानीयवासीले उद्धार गरेर जिल्ला अस्पताल खाँदबारी ल्याएको खाँदबारी-६ का वडाध्यक्ष दयानिधि बरालले बताए। </p>
<p>वर्षासँगै खाँदबारी-९ मा रहेको तुम्लिङटार बजारसमेत डुबानमा परेको छ। तुम्लिङटार बजार क्षेत्रका घरमा माटो र ढुङ्गाले बनेका तीन कच्ची घर भत्किएका छन्। पानीले जलमग्न भएको तुम्लिङटारमा विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र सम्सेर मगरको घर भत्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए। </p>
<p>पहिरोले ढुंगेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी-३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। रासस </p>
प्रतिक्रिया दिनुहोस्
