फ्रान्सेली विदेशमन्त्री लेबनानमा, आर्थिक संकट छलफलको मुख्य अजेन्डा

बेरूत। फ्रान्सका विदेशमन्त्री जाँ-येभ्स ली ड्रायन संकटग्रस्त मुलुक लेबनानको दुई दिने भ्रमणका लागि बिहीबार बेरूत पुगेका छन्।

विदेशमन्त्री ड्रायनले लेबनानका राष्ट्रपति मिसेल आउनसहित प्रधानमन्त्री हस्सन डायब र सभामुख नबिह बेरीसमेतका उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय विषयमा छलफल गर्नु हुनेछ।

फ्रान्सेली दूतावासले जारी गरेको वक्तव्यमा लेबनानका समकक्षी नस्सिफ हिट्टीसँग भेटवार्ता गरिसकेपछि संयुक्त वक्तव्य जारी गरिने उल्लेख छ।

लेबनानमा दशकौंपछि पहिलोपटक अत्यन्त गहिरो आर्थिक संकट उत्पन्न हुनुका साथै लेबनानी मुद्राको व्यापक अवमूल्यन भएको छ। मुद्रास्फितिको अवस्था सिर्जना भएसँगै लेबनानका आधाभन्दा बढी मानिस गरिबीको स्थितिमा पुगेका छन्।

मुलुकको अर्थतन्त्रमा व्यापक मन्दी छाएपछि गत अक्टोबरदेखि नै सरकार विरोधी प्रदर्शन जारी छन्। प्रदर्शनकारीले लेबनान सरकार अक्षम र भ्रष्ट रहेको आरोप लगाएका छन्। यहाँ हजारौं व्यक्तिले रोजगारी गुमाइसकेका छन्।

गत मार्चमा पहिलोपटक संकटग्रस्त घोषणा गरिएको लेबनानले दुई महिना पहिले अन्तर्राष्ट्रिय मुद्राकोषसँग अर्बौं डलरको आर्थिक सहायताका लागि वार्ता शुरू गरेको थियो, तर अहिले उक्त मध्यस्थता वार्ता रोकिएको छ।

यसै महिनाको शुरूमा फ्रान्सेली विदेशमन्त्री ड्रायनले विदेशी आर्थिक सहायता प्राप्त गर्नुअघि गर्नुपर्ने सुधारका कार्यहरूमा लेबनानले प्रतिबद्धता कमजोर रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए।

लेबनान सरकारले आफूलाई २० अर्ब डलरभन्दा बढी विदेशी आर्थिक सहायता जरूरी रहेको बताउँदै आएको छ। उक्त रकममध्ये सन् २०१८ मा सम्पन्न पेरिस बैठकमा व्यक्त ११ अर्ब डलरको आर्थिक सहायता समेत रहेको छ, तर लेबनानले सुधारका कार्यहरूमा प्रगति गर्न नसकेपछि प्रतिबद्धता त्यत्तिकै थन्किएको छ। रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्