दम्पती हत्या प्रकरणका मुख्य अभियुक्त १४ वर्षपछि पक्राउ

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक नातिकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीको हत्याका मुख्य अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ।

हत्या गरेर फरार भई भारतमा लुकेर बस्दै आएका सर्लाहीको पिपरिया गाविस-९ बस्ने ३४ वर्षीय जयकिशोर शाहलाई १४ वर्षपछि पक्राउ गरेको हो।

सीआईबीले आज पत्रकार सम्मेलन गरी हिजो पक्राउ परेका शाहलाई सार्वजनिक गरेको छ। शाहलाई ब्यूराेले तीन दिनअघि लखनउमा पक्राउ गरेकाे प्रहरी स्राेतले जानकारी दियाे। तर, पत्रकार सम्मेलनमा उनलाई बाँकेकाे भारतसँग सीमा जाेडिएकाे क्षेत्रबाट पक्राउ गरेर काठमाडौं ल्याइएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले जानकारी दिए।

मोरङको डाँगीहाट घर भई काठमाडौंमा सःमिल सञ्चालन गर्ने सुवेदी दम्पतीको मिलमा काम गर्ने सर्लाहीका जयकिशोर र बाँकेका प्रताप रानाले २०६३ पुस २० गते राति धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए।

आफैंले काम गरिरहेको सःमिलका मालिकले काम बिगारेकोमा गाली गरेको विषयलाई लिएर सुवेदी, उनकी श्रीमती र छोराहरूलाई धारिलो हतियारले शरीरका विभिन्न भागमा प्रहार गरी निर्ममतापूर्वक आक्रमण गरेका थिए।

दुवै अभियुक्त हत्यालगत्तै नेपालबाट भागी भारतको लखनउमा गएर बसेका थिए।

पक्राउ परेका शाहले जय शर्माको नामबाट भारतीय आधारकार्ड लगायतका कागजात बनाएर पहिचानसमेत बदली भारतको लखनउमा बस्दै आएका थिए।

“सीआईबीको स्थापनकालदेखि नै यो घटनालाई प्राथमिकतामा राखी अनुसन्धान गरिएको थियो,” सीआईबी प्रमुख डिआईजी सहकुल थापाले भने, “घटनामा गम्भीर घाइते भई बाँच्न सफल विलभ सुवेदीसँगको निरन्तर सम्पर्क र सूचनाको सहयोगसमेतका आधारमा अन्तर्राष्ट्रियस्तरमा समेत समन्वय गरी सुराकी परिचालन र प्रविधिको प्रयोग, हुलिया सनाखत लगायतबाट पक्राउ गरिएको हो।”

फरार रहेका अर्का अभियुक्तलाई चाँडै पक्राउ गरी कारबाहीको दायरामा ल्याइने सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्