संखुवासभाको सिलिचोङमा पहिरोले ८ घर बगायो, ११ बेपत्ता, ३ जना घाइते
काठमाडौं। संखुवासभाको सिलिचोङ गाउँपालिका-१ बेसिन्दामा पहिरोले ८ घर बगाउँदा ११ जना बेपत्ता भएका छन्।

पहिरोमा परेका तीनजनाको भने सकुशल उद्धार गरिएको छ।

उनीहरूमध्ये ७५ वर्षीय एक वृद्ध गम्भीर घाइते छन्। उनलाई उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टरको व्यवस्थाका लागि गृह मन्त्रालयलाई आग्रह गरिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए।

“पहिरो गएको ठाउँमा सडक यातायात छैन। पैदल नै पुग्नुपर्छ,” उनले भने, “सदरमुकामदेखि त्यहाँ पुग्नै करीब डेढ दिन लाग्छ।”

उनका अनुसार अविरल वर्षापछि राति २ बजेको समयमा माथीबाट खसेको पहिरोले घर बगाएको हो। पहिरो गएको खबर पाए लगत्तै बिहानै त्यसतर्फ सुरक्षाकर्मीको टोली परिचालन भइसकेको छ।

“पहिरो गएको नजिकै रहेको प्रहरी चौकीबाट पनि त्यहाँ पुग्न करीब ६ घण्टा लाग्छ,” उनले भने, “पछिल्लो समय फोन सम्पर्क हुन नसकेकाले विवरण आइपुगेको छैन।”

सदरमुकामदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप मद्दत टोली त्यसतर्फ खटिसकेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्