गण्डकी प्रदेश पहिरो अपडेट: ११ जनाको मृत्यु, १२ बेपत्ता

काठमाडौं। बिहीबार रातिको वर्षाका कारण गण्डकी प्रदेशमा मात्र ११ जनाको मृत्यु भएको छ। १२ जना सम्पर्कविहीन छन्।

अविरल वर्षापछि गएको पहिरोमा परेर कास्कीमा सात, लमजुङमा तीन र म्याग्दीमा एक जनाको मृत्यु भएको हो।

पहिरोमा परेर १६ जना घाइते पनि भएका छन्। प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार म्याग्दीमा १२ जना हराइरहेका छन्।

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा पहिरोले घरपुरिँदा ५० वर्षीय टङ्कबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, तनहुँ दमौलीका आठ वर्षीय शीतल श्रेष्ठ, ११ वर्षीया इशिका थापामगर र ६ वर्षीय सुवान थापाको मृत्यु भएको हो। त्यहाँ आठ जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–२५ हेमजाको मेलबोटमा पहिरोले घर पुरिँदा ७० वर्षीय हिमकली अधिकारी र पोखरा–२६ पैतेडाँडामा घर पुर्दा ३५ वर्षीय दुर्गाबहादुर सुनारको मृत्यु भएको पनि प्रहरीले जनाएको छ।

अविरल वर्षाका कारण म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–६ स्थित रापुखोलामा आएको बाढीले बगाएर ठाँडाखानीका ५० वर्षीय नलिमान छन्त्यालको मृत्यु भएको छ। त्यस्तै धवलागिरी गाउँपालिका–६ का चार घर पुरिँदा १० जना तथा मालिका गाउँपालिका–७ निमदुलेका ४० वर्षीया विष्णु पौडेल र उनकी चार वर्षीया छोरी ईशा बेपत्ता छन्।

प्रहरी नायब निरीक्षक रेग्मीका अनुसार लमजुङको बेँसीशहर नगरापलिका–७ सातबिसेस्थित पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी श्रीमती २६ वर्षीय बिमाया र ९ वर्षीय छोरा छैवाङको मृत्यु भएको छ। सोही पहिरोका घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोमा परी विभिन्न जिल्लामा बङ्गुर, बाख्रा, भैँसी, गोरुलगायतका २३८ भन्दा बढी चौपाया मरेको पनि प्रहरीले जनाएको छ। वर्षाका कारण गण्डकी प्रदेशमा कतिपय सडक अवरुद्ध हुनुका साथै धानसहितका बालीमा पनि क्षति पुर्‍याएको छ।

रासस

प्रतिक्रिया दिनुहोस्