विश्वमै धेरै भीड हुने फ्रान्सको लुवर संग्रहालय पुनः खुल्ला

काठमाडाैं। विश्वकै अत्यधिक धेरै मानिस जाने मानिने फ्रान्सको लुवर संग्रहालय झण्डै साढे तीन महिनापछि पुनः खुलेको छ।

कोरोनाभाइरसको सङ्क्रमणको खतरा बढ्दै गएपछि बन्द गरिएको संग्रहालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो।

पुनः खुल्ला गरिएपछिको पहिलो दिनमा सोमबार झण्डै सात हजार मानिसले संग्रहालय भ्रमण गरेको जनाइएको छ।

जबकि कोरोनाभाइरसको सङ्क्रमण फैलिनु अघिसम्म दैनिक ३० हजार मानिसले संग्रहालयको भ्रमण गर्ने गरेका थिए।

संग्रहालयमा आउनेहरूलाई मास्क लगाउन अनिवार्य गरिएको संग्रहालयका अध्यक्ष तथा निर्देशक जेन लुक मार्टिनेजले जानकारी दिए।

हरेक चरणमा ५०० आगन्तुकहरूलाई व्यवस्थापन गर्ने गरिएको उनले बताए। त्यसका लागि उनीहरूलाई आधारभूत स्वास्थ्य सतर्कता र मापदण्डहरू पूरा गर्नैपर्ने व्यवस्था पनि गरिएको उनको भनाइ छ।

आगन्तुकहरूलाई बस्ने ठाउँमा सामाजिक दूरी कायम हुने गरी व्यवस्था गरिएको र एकातिरबाट जाने र अर्कोतिरबाट निस्कने व्यवस्था गरिएको छ।

एउटै बाटोमा फर्केर हिँड्न नपाइने नियम लगाइएको मार्टिनेजले बताए।

चर्चित यस संग्रहालय गत मार्च महिनाको १३ तारिखदेखि बन्द थियो। बन्दका कारण दशौँ लाख टिकट बिक्रीबाट हुने आम्दानी गुमेको र धेरै टिकटहरू फिर्ता गर्नु परेको पनि उनले जानकारी दिए।

संग्रहालयमा युरोपेली देशबाहेक चीन, दक्षिण कोरिया, जापान, अमेरिका, ब्राजिललगायतका देशबाट आउने आगन्तुकहरू नदेखिएको पनि उनले बताए। रासस-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्