श्रमिकको सहयोगार्थ आइएलओको अनुदान

काठमाडाैं। अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले कोभिड-१९ सँग लड्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई चार लाख २४ हजार ३१० डलर (करीब पाँच करोड १० लाख रूपैयाँ) अनुदान दिने भएको छ।

आइएलओ र एनआरएनबीच अनुदान कार्यान्वयनसम्बन्धी सम्झौतासमेत भइसकेको छ।

एनआरएनको अध्यक्ष कुमार पन्तले लामो समयको प्रयासपछि उक्त सम्झौता भएको भन्दै गैरआवसीय नेपाली उत्साहित र हर्षित रहेको बताए। “संघको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकका लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थप जिम्मेवारी बोधका रुपमा लिएका छौँ”, उनले भने।

आइएलओले विशेषगरी कोभिड-१९ बाट प्रभावित मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ उक्त आर्थिक सहयोग गरेको हो।

कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा उक्त रकम खर्चिने अध्यक्ष पन्तले जानकारी दिए।रासस

प्रतिक्रिया दिनुहोस्