काठमाडौंको आकाशमा सलह कीरा
काठमाडाैं। शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह कीरा आज साँझ काठमाडौंको आकाशमा देखिएको छ।

सलहको ठूलो हुल काठमाडौंका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो।

करिब पाँच/सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिए।

सलहको यो हुल रातभर बास बसेर पश्चिमतिर जाने अनुमान गरिएको छ।

सलहको यो हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको देखिन्छ। काठमाडौंमा आज देखिएको सलह केही दिनदेखि मकवानपुरमा रहेको सलहको ठूलो हुल हो वा नयाँ हो भन्ने यकिन आवश्यक अध्ययन गरी भोलि मात्रै भन्न सकिने उनले बताए।

मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्