पाटे बाघको आक्रमणबाट दुईजना घाइते

बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटे बाघको आक्रमणबाट आज राजापुर नगरपालिका-१० का दुईजना घाइते भएका छन्।

बाघको आक्रमणबाट बर्दिया राजापुर नगरपालिका-१० लालपुर गाउँका मोहन थारु र मझेरा गाउँका दयाराम थारु घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले जानकारी दिए।

गाउँ नजिकै भैँसी चराउँदै गर्दा लालपुरका मोहनलाई आज बिहान र बाघ रहेको क्षेत्रमा बाघ भगाउन पुगेको टोलीसंँगै पुगेका मझेराका दयारामलाई दिउँसो बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणमा परी मोहनको दायाँ हात, बायाँ खुट्टा र पिँठ्युमा गम्भीर चोट लागेको छ।

दयारामको भने टाउको र दुवै कञ्चटमा गम्भीर चोट लागेको छ।

घाइते दुवैको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको कोठियाघाट प्रहरी चौकीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्