नेपालमा निको हुने कोरोना संक्रमितको दर दक्षिण एसियामा सबैभन्दा कम, जम्मा २२.९५ प्रतिशत संक्रमित घर फिरे

काठमाडौं। दक्षिण एसियामा उपचारपछि निको भई अस्पतालबाट घर फर्कने कोरोना संक्रमितको प्रतिशत नेपालमा सबैभन्दा न्यून देखिएको छ।

दक्षिण एसियामा मात्र होइन विश्वका अन्य राष्ट्रको तुलनामा पनि नेपालमा निको हुने संक्रमितको संख्या न्यून रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार आजसम्म नेपालमा कूल ११ हजार ७५५ जनामा कोरोना संक्रमण रहेको पुष्टि भइसकेको छ।

यीमध्ये दुई हजार ६९८ जना संक्रमित उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। यो भनेको नेपालमा रहेका कूल संक्रमितको २२.९५ प्रतिशत निको भइसकेका छन्। नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित गत माघ ९ गते भेटिएक थिए।

विश्वका कूल कोरोना संक्रमित र निको भएकाहरुसँग तुलना गर्ने हो भने नेपालमा निको हुनेहरुको दर निकै कम हो।

वल्डोमिर्टसको तथ्याङ्कअनुसार विश्वमा कूल कोरोना संक्रमितको संख्या ९७ लाख ५७ हजार ४३२ पुगेको छ, जसमध्ये ५२ लाख ८५ हजार १२९ जना निको भई अस्पतालबाट घर फर्किसकेका छन्।

अर्थात, विश्वमा रहेका कूल संक्रमितमध्ये ५४.१६ प्रतिशत संक्रमित निको भइसकेका छन्। यसको तुलनामा नेपालमा निको हुनेको प्रतिशत दर निकै कम हो।

अहिले विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा कोरोना संक्रमितको संख्या २५ लाख ७ हजार ३६९ पुगेको छ।

अमेरिकामा रहेका संक्रमित मध्ये हालसम्म १० लाख ५२ हजार ४४९ जना निको भई घर फर्केका छन्। यो भनेको अमेरिकामा रहेका कूल संक्रमितको ४१.९७ प्रतिशत निको भइसकेका छन्।

पछिल्लो साता दैनिक सबैभन्दा बढी कोरोना संक्रमित ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलमा थपिँदै आएका छन्।

ब्राजिलमा हालसम्म १२ लाख ३३ हजार १४७ जनामा काेरोना संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये ६ लाख ७३ हजार ७२९ जना निको भइसकेका छन्।

ब्राजिलमा रहेका कूल संक्रमितको ५४.६३ प्रतिशत निको भइसकेका छन्।

दक्षिण एसियाली राष्ट्रहरूमा पनि निको हुने सबैभन्दा कम प्रतिशत दर नेपालमा देखिन्छ। दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा बढी संक्रमित भारतमा रहेका छन्।

भारतमा रहेका चार लाख ९७ हजार ८२४ जना संक्रमित मध्ये दुई लाख ८९ हजार ७६८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। यो भनेको ५८.२० प्रतिशत हो।

पाकिस्तानमा रहेका कूल संक्रमितमध्ये ४२.९९ प्रतिशत निको भइसकेका छन्। बंगलादेशमा निको हुने संक्रमितको प्रतिशत ४०.७२ रहेको छ।

यस्तै, हालसम्म अफगानिस्तानमा रहेका संक्रमित मध्ये ३३.८४ प्रतिशत, माल्दिभ्समा रहेका संक्रमितमध्ये ८१.१५ प्रतिशत, श्रीलंकामा रहेका कूल संक्रमित मध्ये ८०.४९ प्रतिशत र भुटानमा रहेका कूल संक्रमित मध्ये ५४.२८ प्रतिशत निको भई अस्पतालबाट घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस्