तरकारी र मकै खेतीका नाममा बागमती किनारको जग्गा कब्जा

काठमाडौं। राजधानीको सभ्यताको स्रोत बागमती नदी किनारमा स्थानीयवासीले तरकारी, मकैलगायत अन्नबाली लगाएर सार्वजनिक जग्गा अतिक्रमण गर्दा पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन।

बागमती सफाइ अभियानको हिजो साँझ भएको भर्चुअल बैठकमा अभियानकर्मी नरेन्द्र श्रेष्ठले शङ्खमूल क्षेत्रमा नदी किनारको दायाँबायाँ तरकारी, मकैलगायत अन्नबाली लगाएर कब्जा गर्दा पनि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको ध्यान नगएको बताए।

शङ्खमूल क्षेत्रको नदी किनारमा पनि थापाथलीमा जस्तै सुकुम्वासीका नाममा कब्जा गर्ने उद्देश्यले अन्नबाली लगाइएको उनको भनाइ छ।

अभियानकर्मी चक्रबहादुर चन्दले कोटेश्वर महादेवस्थान नजिकैको नदी किनारको जग्गामा स्थायी संरचना निर्माण भइरहे पनि रोक्न पहल नभएको बताए।

बागमती किनारको अधिकांश खाली जग्गामा तरकारी, मकैलगायत अन्नबाली लगाएर अतिक्रमण गर्ने काम तत्काल रोक्न चन्दले सम्बन्धित निकायको ध्यानाकर्षण गराए। रासस

प्रतिक्रिया दिनुहोस्