पाँचखालकाे लगानी सम्मेलन कोरोनाबाट प्रभावित <p>काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न बनाएको योजना योजनामै सीमित भएको छ। लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यपालिकाको योजना कोरोना भाइरस सङ्क्रमणका कारण योजनामै सीमित भएको हो।</p> <p>कोरोना सङ्क्रमण शून्य भएपछि आउँदो आर्थिक वर्षको उपयुक्त समय हेरेर लगानी सम्मेलनको तयारी गर्ने योजना पुनः बनाइने नगरप्रमुख महेश खरेलले बताए। उनले भने, &ldquo;यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्न प्रारम्भिक बजेटसमेत विनियोजन गरेका थियाैं, अब आउँदो वर्ष गर्न पुनः योजना बनाउँछौं।&rdquo; यसअघि स्थानीय तहअन्तर्गत पहिलोपटक गत साल असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गर्दा स्वेदेशीसहित विदेशी लगानीकर्ताले १५ अर्ब रूपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए। काभ्रेपलाञ्चोकको पाँचखाल तिलोत्तमापश्चात लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको थियो।</p> <p>&ldquo;हामी निर्णय गरेरै गत चैतमा लगानी सम्मेलनको तयारीमा जुटेका थियौं, तर कोरोना सङ्क्रमणका कारण गर्न सकेनौँ,&rdquo; खरेलले भने। उनका अनुसार पाँचखालको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न २५ लाख रूपैयाँ प्रारम्भिक बजेट छुट्याइएको थियो। खरेलले भने, &ldquo;पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम शुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ।&rdquo;</p> <p>कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ। &ldquo;स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई कर छुट दिन पनि छलफल गर्दैछौँ,&rdquo; नगरप्रमुख खरेले भने। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्