सवारी पास दुरूपरोग गरी यात्रु ओसारपसार गर्ने चालक पक्राउ

काठमाडौं। लकडाउनकाे समयमा सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना सवारी चालक पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले आज पक्राउ गरेको हाे।

पक्राउ पर्नेमा नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका २ घर भएका ३७ वर्षीय सूर्यकिरण कर्मचार्य र कैलालीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी नगरपालिका १ घर भएका ३१ वर्षीय लोकबहादुर खत्री रहेका छन्।

पक्राउ परेका चालकमध्ये कर्मचार्यले भारतबाट आएका नेपालीहरूलाई विभिन्न जिल्लामा पुर्‍याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी नेपाल भारत रूपेडिया नाकाबाट ३ जना र नेपालगन्जबाट ४ जना गरी ७ जना यात्रु लिई आएका थिए। उनले यात्रूबाट २१ हजार रूपैयाँ असुल गरेको प्रहरीले जनाएकाे छ।

यसैगरी खत्रीले उद्योग, वाणिज्य तथा आपूर्ति विकास मन्त्रालय काठमाडौंबाट कृषि तथा पशुपन्क्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १८ हजार रूपैयाँ भाडा असुल गरी १२ जना यात्रु लिएर आएको अनुसन्धानको क्रममा खुलेको छ।

सरकारले कोभिड-१९ रोकथामको लागि संक्रामक रोग २०२० को दफा २ विशेष व्यवस्था गर्ने अधिकार प्रयोग गर्दै एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न अनिवार्य रूपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सवारी पास लागू गरेको छ।

प्रतिक्रिया दिनुहोस्