बागलुङ नगरपालिकाकाे कार्यक्रम: स्वरोजगार हुन चाहनेलाई बिनाधितो ऋण
<p>गलकोट। बागलुङ नगरपालिकाले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरसका कारण गुमेको रोजगारी सिर्जना गर्नेदेखि मर्कामा परेका व्यावसायीको कर छुट गर्नेसम्मका योजना ल्याएको छ। नगरसभामा नगरप्रमुख जनकराज पौडेलले 'बस्ती-बस्तीमा मेयर' कार्यक्रमदेखि स्वरोजगार हुन चाहनेलाई बिनाधितो ऋणसम्मका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।</p>
<p>नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८मा कोरोना भाइरसको नियन्त्रणका लागि विशेष भूमिका निर्वाह गर्ने, रोजगारी गुमाएर स्वदेश फर्केकालाई रोजगारी सिर्जना गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने योजना अगाडि सारेको छ। कोभिड-१९ ले समस्यामा परेका व्यवसायीले नगरपालिकालाई चालु आर्थिक वर्षमा तिर्नुपर्ने व्यावसायिक करमा २५ प्रतिशत छुट दिइने नीति तथा कार्यक्रममा उल्लेख छ। यस्तै विपन्न परिवार पहिचान गरी उनीहरुलाई रोजगारी सिर्जना गरी आयस्तर वृद्धिका कार्यक्रम सञ्चालन गरिने, जोखिमपूर्णरुपमा काम गर्ने मजदुरका लागि जोखिम राहात कोषको व्यवस्था गरिने नगरपालिकाको कार्यक्रममा उल्लेख छ।</p>
<p>नसर्ने रोगकाविरुद्ध जागरण तथा हरेक वार्डमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्ने, अति विपन्न, सिमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रमलाई निरन्तरता दिने, बागलुङका सबै भाषा, धर्म, संस्कृतिलाई संरक्षण तथा प्रवर्द्धनका लागि विशेष कार्यक्रम लागू गर्ने नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।</p>
<p>नगरपालिकाले भूमि बैंक स्थापना गरी विपन्न एवं रोजगार गुमेकालाई उत्पादन क्षेत्रमा लगाउने, बाँझो जग्गा राख्नेलाई थप कर लगाउने, नगरपालिकाको आर्थिक लगानीमा कृषि, तरकारी संकलन तथा बिक्री केन्द्र (हाट बजार) व्यवस्थित रुपमा सञ्चालनलाई निरन्तरता दिने कार्यक्रममा उल्लेख गरेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
