हजमा सीमित व्यक्तिमात्र उपस्थित हुने साउदी सरकारको भनाइ

रियाद। साउदी अरेबियाको सरकारले यसपटक अत्यन्तै थोरै संख्यामा उपस्थित मानिसहरुलाई हजका लागि उपस्थित हुन दिने जनाएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यसपटक हजका लागि थोरै व्यक्तिलाई मात्र उपस्थित हुन दिने साउदी सरकारले जनाएकाे हाे।

आगामी जुलाई महिनाको अन्त्यतिर आउन लागेको उक्त हजमा कोरोना भाइरसको प्रकोप फैलिने खतराका कारण धेरै संख्यामा मानिस जम्मा हुन नदिने घोषणा गरेको अल जाजिराले जनाएको छ।

साउदी अरेबियामा हरेक वर्ष विश्वका मुस्लिम समुदायका लाखौँ व्यक्ति उपस्थित हुने गरेको छन्। यसपटक पनि हजको समय नजिकिँदै गर्दा आएको विश्वव्यापी चासोपछि साउदी सरकारले यस्तो जानकारी गराएको हो।

साउदी अरेबियाको हज मन्त्रालयले उक्त कुराको जानकारी दिएको साउदी अरेबियाका सरकारी सञ्चारमाध्यमले उल्लेख गरेका छन्। अहिले विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढेको तर पनि त्यसको औषधि या खोप केही पनि नआएको अहिलेको अवस्थामा सामाजिक दूरी कायम गरेर मात्र हिँड्नुपर्ने अवस्था रहेको छ।

हज मुस्लिम समुदायको ठूलो तीर्थ मानिन्छ र मुस्लिम समुदायका विश्वका नागरिकहरु पनि कम्तीमा जीवनमा एक पटक हजका लागि त्यहाँ जानुपर्छ भन्ने मान्यता राख्दछन्। यसै कारणले पनि हरेक वर्ष साउदी अरेबियाको मक्कामा कम्तीमा पनि २० लाख मानिस उपस्थित हुने गर्दछन्। रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्