दुई महीनामा कोरोना संक्रमित ४० हजार पुग्ने अनुमान, भेन्टिलेटर र आईसीयू थप्दै मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ।

मन्त्रालयले मुलुकभर एक हजार भेन्टिलेटर र एक हजार ८०० सघन उपचार कक्ष (आईसीयू) तयारी अवस्थामा राखेको छ। मन्त्रालयका नीति तथा योजना प्रमुख डा. गुणराज लोहनीले कोभिड-१९ संक्रमणबाट गम्भीर हुने दुई हजारलाई लक्षित गरेर भेन्टिलेटर र आईसीयू बनाइएको बताए।

‘‘अहिले संक्रमण बढदै गए २ भदौसम्म ४० हजार संक्रमित हुने र तीमध्ये पाँच प्रतिशत बिरामी गम्भीर हुँदा दुई हजार र दुई प्रतिशत भए ८०० बिरामी हुन्छन् भनेर हामीले आँकलन गरेका छौँ’’, उनले भने, ‘‘त्यही अनुसार हामीले भेन्टिलेटर र आईसीयू तयार पारेका छौँ।’’

मन्त्रालयले प्रत्येक प्रदेशमा दुई/दुई वटा अस्पतालका दरले पाँच/पाँच वटा आईसीयू र दुई/दुई वटा भेन्टिलेटर बनाउन निर्देशन दिएको थियो।

यसअघि मन्त्रालयले ८९० भेन्टिलेटर र एक हजार ६०० शय्या बनाएकोमा संक्रमित बढ्दै गएपछि भेन्टिलेटर र आईसीयू शय्या थप गरिएको हो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ९८ प्रतिशत संक्रमित कोभिड–१९ सँग सम्बन्धित कुनै लक्षण नदेखिएको बताए। उनका अनुसार अहिले काठमाडौंमा तीन, बुटवलमा ६ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना आईसीयूमा राखेर उपचार भइरहेको छ।

अहिले दैनिक तीनदेखि ४०० को दरले सङ्क्रमित देखा परेका छन् । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका व्यक्तिमा गत ९ माघमा कोरोना भाइरस संक्रमण देखिएको थियो।

अहिलेसम्म कूल नौ हजार २६ जनामा कोभिड-१९ पुष्‍टि भएको छ। तीमध्ये एक हजार ७७२ जना डिस्चार्ज भएका छन् भने २३ जनाको मृत्यु भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्