महिला र बालबालिकाका लागि चितवनमा छुट्टै क्वारेन्टाइन

चितवन। जिल्लामा पहिलो पटक महिला र बालबालिकाका लागि राप्ती नगरपालिकाले छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ।

राप्ती-६ मा रहेको भण्डारा माविमा महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरिएको हो।

महिलामैत्री क्वारेन्टाइनको सुविधा नभएको गुनासो आइरहेको समयमा राप्ती नगरपालिकाले भण्डारा माविमा ५० बेडको महिलामैत्री क्वारेन्टाइन निर्माण गरेको छ।

तत्कालका लागि ३० बेडको क्वारेन्टाइनको व्यवस्था भए पनि ५० शय्या पुर्‍याइने नगरपालिका प्रमुख प्रभा बरालले बताइन्।

बरालका अनुसार महिला तथा बालबालिकाका लागि छुट्टै क्वारेन्टाइन निर्माण गरी सुरक्षाका लागि महिला प्रहरीको व्यवस्थापन गरिनेछ ।

तेस्रो मुलुकका नेपाली आउने क्रम जारी रहेकाले उनीहरूको व्यवस्थापनका लागि वडाध्यक्ष जल्लु चौधरीको अध्यक्षतामा समिति गठन गरिएको छ।

यस पालिकाबाट हालसम्म १२१ जना क्वारेन्टाइनको समय अवधि पूरा गरेर घर फर्किएका छन् भने अहिले ५३ जना क्वारेन्टाइनमा रहेका छन्। तीमध्ये १० महिला छन्। रासस

प्रतिक्रिया दिनुहोस्