बलात्कारबाट गर्भ बोकेकी बालिकाको गाउँलेको दबाबमा अर्कैसँग विवाह
सप्तरी। १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया पक्राउ परेका छन्।

तीन महिनाकी गर्भवती पीडितले मुखियाको बलात्कारबाट गर्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए।

यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले गर्भवती बालिकाको विवाह २८ वैशाखमा गाउँकै एक १८ वर्षीय बालकसँग गरिदिएको स्थानीय गीता देवले बताइन्।

“उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको गर्भ रहेको बताइन्, अहिले लालबहादुरको गर्भ भन्दै उजुरी दिइन्”, देवले भनिन्, “यसरी कुरो फेरेपछि गाउँभरि तनाव बढेको छ।”

पीडितले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाएअनुसार आफूले उतिबेला झुटो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।

बालिकाको बयानका आधारमा दुई जना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उनीहरूलाई तारेखमा रिहा गरिएको प्रनाउ भारतीले जानकारी दिए। उनका अनुसार लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको छ

बलात्कारको उजुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आरोपितसँग गराई दिन सक्रिय भएका छन्।

अधिवक्ता तथा अधिकारकर्मी मीना देव धेरैजसो महिला हिंसाका घटना गाउँघरमै बसेर टुङ्ग्याइने गरेकाले महिलाले असुरक्षित महसुश गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्