फर्जी कर्मचारीको विवरण पेश गर्ने सरकारी कर्मचारीविरुद्ध १३ करोड बिगो मागसहित विशेष अदालतमा मुद्दा

काठमाडौं । कर्मचारीको फर्जी विवरण तयार गरी तलब भत्ता भुक्तानी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका तत्कालीन अधिकृत अमरबहादुर मल्ललगायत ८ जनाविरुद्ध हिजो विशेष अदालतमा झण्डै १३ करोड रुपैयाँ बिगो मागदाबी राख्दै आर्थिक अनियमितताको मुद्दा दायर गरेको छ।

जिल्ला हुलाक कार्यालय दैलेखमा १ सय ५२ जनाको दरबन्दी रहेकामा मल्लसहितका अधिकारीले आर्थिक वर्ष २०६९-०७० मा २ सय ९९ तथा आर्थिक वर्ष २०७०-०७१ मा ४ सय १२ जनाको फर्जी प्रतिवेदन पेश गरी अनियमितता गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो।

फर्जी प्रतिवेदन पेश गरी भुक्तानी गर्दा १ करोड ८२ लाख ६ हजार ९ सय रुपैयाँ सरकारी रकम हिनामिना भएको पुष्टि भएको अख्तियारले जनाएको छ । आठ जनाविरुद्ध १२ करोड ९८ लाख ३ हजार २४० रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी गराएअनुसार हिनामिनामा संलग्‍न देखिएका जिल्ला हुलाक कार्यालय दैलेखका तत्कालीन कार्यालय प्रमुख मल्ल, साविक हुलाक सेवा विभागका शाखा अधिकृत श्यामकुमार सिंह, जिल्ला हुलाक कार्यालय दैलेखमा सुब्बा सन्तोष गौतम, कम्प्युटर अपरेटर गणेशबहादुर केसी, साविक कोष तथा नियन्त्रक कार्यालय दैलेखमा कार्यरत शुभाखर न्यौपाने र कोष तथा नियन्त्रक कार्यालय दैलेखका लेखापाल दीपबहादुर थापामाथि जनही १ करोड ८२ लाख ६ हजार ९ सय रुपैयाँ बिगो माग गरी मुद्दा चलाएको छ।

यसैगरी जिल्ला हुलाकका लेखापाल शालिग्राम पौडेलसँग १ करोड ७५ लाख ५८ हजार ६३०, नायब सुब्बा रणबहादुर बोहरासँग ३० लाख ३ हजार २१० रुपैयाँ बिगो माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्