ला लिगाको शीर्ष स्थानमा उक्लियो रियाल
<p>काठमाडौं। कप्तान सर्जियो रामोस र करिम बेन्जेमाको गोलमा रियाल मड्रिडले गएराति रियाल सोसिडाडलाई २-१ ले पराजित गराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।</p>
<p>जिनेदिन जिदानको रियाल र साविक विजेता बार्सिलोनाको समान ६५ अंक छ। तर ‘हेड टु हेड’का आधरमा रियाल शीर्ष स्थानमा बस्‍न सफल भएको हो। बार्सिलोना शुक्रबार राति सेभियासँग गोलरहित बराबरीमा रोकिएको थियो।</p>
<p>सर्जियो रामोसले ५०औं मिनेटमा गरेको गोलबाट रियालले अग्रता लिएको थियो। रियाल सोसिडाडका रक्षक डिएगो लोरेन्टेले भिनियस जुनियरलाई फाउल गरेपछि रियालले पेनाल्टी अवसर पाएको थियो। जसलाई कप्तान रामोसले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए।</p>
<p>७०औं मिनेटमा फेडरिको भालभार्डेको पासमा बेन्जेमाले गोल गर्दै रियालको अग्रता दोब्बर बनाएका थिए। खेल सकिन सात मिनेट बाँकी रहँदा माइकल मोरिनोले गोल गरे पनि रियाल सोसिडाडलाई खेलमा पुनरागमन गर्न ढिला भइसकेको थियो। त्यसअघि वैकल्पिक खेलाडी अद्‍नान जानुजाजले ६८औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्री (भीएआर) ले अफसाइड घोषित गरिदिएको थियो। रियाल सोसिडाड ४७ अंकका साथ छैटौं स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा पाँच अंकले मात्र पछाडि हो।</p>
प्रतिक्रिया दिनुहोस्
