देशैभर मनसुन सक्रियः सर्वसाधारण सतर्क रहनु, सरोकारवाला निकाय पूर्वतयारीमा लाग्नु

काठमाडौं । हिजोबाट मनसुन देशैभर सक्रिय बनेको छ। यससँगै मौसमी गतिविधि बढ्ने हुँदा सर्वसाधारण बढी सतर्क रहनुपर्ने र सरोकारवाला निकायहरू आवश्यक पूर्वतयारीमा जुट्नुपर्छ।

‘मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउनुका साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्‍नु हुन सम्बन्धित निकायहरूलाई अनुरोध छ,’ मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सामान्यतयाः मनसुन १० जुनमा नेपालको पूर्वी भूभागमा प्रवेश गर्छ। यस वर्ष मनसुन १२ जुनमा नेपालको पूर्वी भागबाट प्रवेश गरेको थियो। हिजो २१ जुनदेखि देशैभर मनसुनको प्रभाव परेको छ। यसकारण आज बिहानैदेखि देशभर सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमी गतिविधि बढेसँगै पहाडमा पहिरो र तराईमा बाढीको जोखिम बढेर जान्छ। नदी, खहरे खोला र पहिरोको जोखिम रहेका स्थानमा बसोबास गर्नेहरूले यस्तो बेला विशेष सतर्कता अपनाउनुपर्छ।

विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, वागमती, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदुरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वागमती, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

‘वर्षाका कारण ती क्षेत्रहरूका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ।

भोलि सबै प्रदेशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्‍चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्