संघर्षपूर्ण जितसँगै एट्लेटिको ला लिगाको तेस्रो स्थानमा

काठमाडौं। वैकल्पिक खेलाडी भिटोलोले गरेको गोलमा एट्लेटिको मड्रिडले गएराति रियाल भालाडोलिडलाई १-० ले पराजित गर्दै स्पेनिस ला लिगाको चौथो स्थानमा रहने सम्भावना बलियो बनाएको छ।

वान्डा मेट्रोपोलिटानो रंगशालामा खेल सकिन १७ मिनेट बाँकी छँदा भिटोलो बेन्चबाट मैदान छिरेका थिए। उनी मार्कुस लोरेन्टेको स्थानमा मैदान प्रवेश गरेका हुन्। मैदान छिरेको आठ मिनेटमै भिटोलोले डिएगो कोस्टाको पासमा गोल गर्दै एट्लेटिकोको महत्वपूर्ण तीन अंक पक्का गरेका थिए।

कर्नरबाट आएको बललाई कोस्टाले हेडमार्फत भिटोलोलाई पास दिएका थिए। विपक्षी गोलकिपर जोसे एन्टोनियो कारो अगाडि बढेको अवस्थामा भिटोलोले पनि हेडमार्फत बललाई पोस्टको दिशा दिएका थिए। तर उक्त बललाई भालाडोलिडका रक्षक किको ओलिभसले क्लियर गरिदिएका थिए।

तर भिडिओ सहायक रेफ्रीले हेर्दा किकोले बल गोललाइन भित्रबाट क्लियर गरेको भन्दै गोललाई मान्यता दिएको थियो। जितसँगै एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ।

एटे्लेटिकोले ३० खेलबाट ५२ अंक जोडेको छ। जुन चौथो स्थानको सेभियासँग बराबरी हो भने दोस्रो स्थानको एट्लेटिकोभन्दा १० अंकले पछाडि हो।

स्पेनिस ला लिगामै चाडो गरी सम्पन्‍न खेलमा पाँचौं स्थानको गेटाफेले १६औं स्थानको इबरलाई १-१ को बराबरी खेल्यो। त्यस्तै नवौं स्थानको एथलेटिक विल्बाओले १४औं स्थानको रियाल बेटिसलाई १-० ले पराजित गर्‍यो।

प्रतिक्रिया दिनुहोस्