अग्रता जोगाउन नसक्दा आर्सनल स्तब्ध
काठमाडौं। आर्सनलले लिएको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगमा आज ब्राइटनसँग २-१ ले स्तब्ध भएको छ।

निकोलस पेपेको सुन्दर गोलमा आर्सनलले ६८औं मिनेटमा अग्रता लिएको थियो। बुकायो साकाको पासमा पेपेले बायाँ खुट्टाले दोस्रो बार च्यापेर हानेको प्रहारलाई ब्राइटनका गोलकिपर म्याथ्यु रायनले ठम्याउन सकेनन्।

पेपेको गोलसँगै अग्रता लिए पनि भ्रमणकारी आर्सनलले त्यसलाई जोगाउन सकेन। ७५औं मिनेटमा लेविस डन्कले बराबरी गोल फर्काए। चार मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा निइल माउपेले अर्को गोल थप्दै ब्राइटनलाई महत्वपूर्ण तीन अंक दिलाए।

जितसँगै ब्राइटनले रेलिगेशनबाट बच्ने सम्भावना बलियो बनाएको छ। ब्राइटन ३२ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेसन क्षेत्रमा रहेको बर्नमाउथभन्दा पाँच अंकले माथि हो।

आर्सनल भने ४० अंकका साथ नवौं स्थानमा छ। आर्सनलको यो लगातार दोस्रो हार हो। महामारीपछि पुन: लिग शुरू भए पछिको पहिलो खेलमा आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ३-० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्