एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ। कोभिड-१९ महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्‍ट्रियस्तरको परीक्षालाई कक्षा-१२ मा मात्रै कायम राख्‍ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले २८ जेठमा २०७६ सालको एसइई नलिई आन्तरिक मूल्यांकनका आधारमा ग्रेडिङ गर्ने निर्णय गरेको थियो। त्यसलाई संरचनाका रूपमा विकास गर्न कानूनी परिवर्तन आवश्यक छ।

संघीय शिक्षा ऐन जारी नभएको र बोर्डको प्रदेशस्तरमा संरचना तयार नभएकाले कक्षा-१० को एसइईलाई सरकारले राष्‍ट्रियस्तरमा सञ्‍चालन गर्दै आएको छ। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पनि कक्षा-१० को एसइईलाई राष्‍ट्रियस्तरमा गरिरहन नपर्ने प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइसकेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संसद्‍मा पेश हुने संघीयताअनुरूपको शिक्षा ऐनबारे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेको जानकारी दिए। सो ऐन संसदबाट पारित भएपछि माध्यमिक शिक्षाको कक्षा-१० अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रूपमा नयाँ व्यवस्थापन हुने उनले बताए। रासस

प्रतिक्रिया दिनुहोस्