बार्सिलोना बराबरीमा रोकिएपछि ला लिगाको उपाधि होड खुला

काठमाडौं। शीर्ष क्लब बार्सिलोनाले गएराति सेभियासँग गोलरहित बराबरी खेलेपछि स्पेनिस ला लिगाको उपाधि होड खुला भएको छ।

तेस्रो स्थानको सेभियासँग बराबरी खेलेपछि बार्सिलोनाले चीर प्रतिद्वन्द्वी रियाल मड्रिडसँग अंक दूरी बढाउने मौका गुमाएको छ। एक खेल कम खेलेको रियाल साविक विजेता बार्सिलोनाभन्दा तीन अंकले मात्र पछाडि छ। बार्सिलोनाभन्दा एक खेल कम खेलेको रियालले आइतबार राति रियाल सोसिडाडको भ्रमण गर्नेछ।

जिनेदिन जिदानको रियालले विजयी नतिजा निकालेमा बार्सिलोनासँग बराबरी गर्नेछ। तेस्रो स्थानको सेभिया भने ५२ अंकका तेस्रो स्थानमा छ। सेभियाले पनि बराबरीसँग चौथो स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी बढाउने मौका गुमायो। एक खेल कम खेलेको एट्लेटिको ४९ अंकका साथ चौथो स्थानमा छ। एटलेटिकोले आज राति रियाल भालाडोलिडविरुद्ध खेल्नेछ।

बार्सिलोनाको आक्रमण पंक्तिलाई घरेलु टीम सेभियाका रक्षकले निराश बनाएका थिए। लियोनल मेसीको केही उत्कृष्ट फ्रिकिकले पोस्टको दिशा लिन सकेन भने लुइस स्वारेजले गोलको अवसर सदुपयोग गर्न सकेनन्। सेभियाका लुकास ओकामपोसले प्रहार पनि क्रसबारमा लागेर बाहिरिएको थियो।

प्रशिक्षक क्‍वेक सेटिनले अर्टुरो भिडालको स्थानमा एन्टोइन ग्रिजमनलाई मैदान छिराए पनि बार्सिलोनाले गोलका खडेरी तोड्न सकेन। सेभियाका सर्जियो रेगुइलोनले अन्तिम मिनेटमा गोलका राम्रो अवसर पाए पनि सदुपयोग गर्न नसक्दा अंक बाँड्नु परेको थियो। मेसीले करियरको ७००औं गोलका लागि अर्को खेलसम्म कुर्नु परेको छ।

प्रतिक्रिया दिनुहोस्