पोग्बा फर्किएको खेलमा युनाइटेड टोटेनह्यामसँग बराबरी रोकियो

काठमाडौं। पाउल पोग्बा गत डिसेम्बरपछि पहिलो पटक टीममा फर्किएको खेलमा म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा टोटेनह्यामसँग १-१ को बराबरी खेलेका छन्।

कुर्कुच्चामा चोट लागेका कारण पोग्बा झन्डै ६ महिना मैदान बाहिर थिए। दोस्रो हाफमा फ्रेडको स्थानमा मैदान प्रवेश गरेका पोग्बा आफ्नो प्रभाव छाड्न सफल भएका थिए। पोग्बालाई टोटेनह्यामका इरिक डायरले फाउल गरेपछि म्यानचेस्टर युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो।

खेल सकिन ९ मिनेट बाँकी छँदा पाएको उक्त अवसरलाई ब्रुनो फर्नान्डेजले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए। त्यसअघि स्टेभन बर्गविजनको सशक्त प्रहार युनाइटेडका गोलकिपर डेबिड डी हियाले रोक्न नसक्दा टोटेनह्यामले २७औं मिनेटमा अग्रता लिएको थियो।

पहिलो हाफमा सन ह्युङ मिनको हेडिङ प्रहारलाई युनाइटेडका गोलकिपर डी हियाले उत्कृष्ट बचाउ गरेका थिए। त्यस्तै युनाइटेडका मार्कुस राशफोर्डले भलीलाई टोटेनह्यामका गोलकिपर ह्युगो लोरिसले पनि उत्कृष्ट बचाउ गरेका थिए। लोरिसले दोस्रो हाफमा एन्थोनी मार्सियालको प्रहारलाई पनि बचाएका थिए।

बराबरीसँग युनाइटेडले चौथो स्थानमा उक्लने मौका गुमाएको छ। युनाइटेड ३० खेलबाट ४६ अंकका साथ पाँचौं स्थानमा छ। जुन चौथो स्थानको चेल्सीभन्दा दुई अंकले कम हो। तथापी चेल्सीले एक खेल कम खेलेको छ। टोटेनह्याम भने ४२ अंकका साथ आठौं स्थानमा छ। जुन चेल्सीको भन्दा ६ अंकले कम हो।

प्रतिक्रिया दिनुहोस्