सेनाका उच्च अधिकृतमा सुन मोह, ६ जनासँग ३३६ तोला सुन
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासहित आठजना उच्च सैनिक अधिकृतसँग ३३६ तोला सुन रहेको पाइएको छ। उनीहरूले नै सार्वजनिक गरेको सम्पत्ति विवरणमा उक्त मात्रामा सुन रहेको देखिएको हो।

प्रधानसेनापति थापाले सेनालाई पारदर्शी बनाउन गत वर्षदेखि सम्पत्ति विवरण सार्वजनिक गर्ने अभियान शुरु गरेपछि उच्च सैनिक अधिकृतहरूसँग रहेको सुनको परिमाण बाहिर आएको हो। पहिलोपटक सेनाका आठ उच्च अधिकारीले सम्पत्ति विवरण पेश गरेका छन्।

प्रधानसेनापति थापासँग ५५ तोला सुन, ५ सय ९० तोला चाँदी तथा १० लाख रुपैयाँ बराबरको हीरा पनि रहेको उनले भरेको विवरणमा उल्लेख छ। प्रधानसेनापति थापाले सुन, चाँदी र हीराको स्रोतका रूपमा पैतृक सम्पत्ति र श्रीमतीसँगै खरिद गरी प्राप्त गरेको सार्वजनिक गरेको बताएका छन्।

नेपाली सेनाका उपरथी अनन्त कार्कीले सम्पत्ति विवरणमा आफूसँग ४१ तोला सुन र ५ सय तोला चाँदी रहेको उल्लेख गरेका छन्। कार्कीले पैतृक सम्पत्ति तथा राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत इराकमा खटिँदा प्राप्त रकमबाट सुन-चाँदी खरिद गरेको जनाएका छन्।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेसँग ४० तोला सुन र २ सय तोला चाँदी छ। उनले आफूसँग हीराको गहना एक सेटसमेत रहेको उल्लेख गरेका छन्। सुन, चाँदी र हीरा केही खरिद गरेको र केही विवाहमा प्राप्त भएको उनले जनाएका छन्।

अर्का उपरथी राजेन्द्र कार्कीसँग सबैभन्दा धेरै ७५ तोला सुन रहेको सम्पत्ति विवरणमा देखिएको छ। सुनका अलवा उनीसँग ३ सय तोला चाँदीका भाँडा वर्तन र २ सेट हीराका गहना रहेको उल्लेख गरेका छन्। यी सम्पत्ति केही खरिद गरेको र केही दाइजोमा प्राप्त भएको उनले जनाएका छन्।

उपरथी रघु भण्डारीले आफूसँग ५५ तोला सुनका विभिन्न गहना रहेको खुलाएका छन्। उनीसँग ५ सय ५ तोला बराबरको चाँदीका भाँडा तथा हीरा र मोतीका एक-एक सेट गहनासमेत रहेको सम्पत्ति विवरणमा उल्लेख छ। आफ्नो तलब भत्ता, पुर्ख्यौली सम्पत्ति तथा दाइजोमार्फत ती गरगहना आर्जन गरेको उनले जनाएका छन्।

सहायक रथी प्रेम शाहीसँग ७० तोला सुन, १० किलो चाँदी र ३ हजार ५ सय अमेरिकी डलर बराबरको २ सेट हिराको गहना रहेको विवरण छ। उनले यी सम्पत्ति केही तलब भत्ताबाट खरिद गरेको र केही पैतृक सम्पत्तिबाट प्राप्त गरेको खुलाएका छन्।

प्रतिक्रिया दिनुहोस्