संक्रमितको घर सिल, परिवारलाई छाक टार्नै मुस्किल
कैलाली। धनगढी उपमहानगरपालिका-१२ जुगेडा ‘ए’ गाउँका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनको घर सिल गरियो। त्यसका कारण उनको परिवारका सदस्यहरूलाई छाक टार्न समस्या भएको छ।
गत २० जेठमा भारतको मुम्बईबाट आएका ३२ वर्षीय पुरुषमा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै उनका तीनवटा घर सिल गरिएको छ। एउटा घरमा उनका ६५ वर्षीय बाबु र ५९ वर्षीया आमा बस्छन्। अर्को घरमा उनकी भाउजु, भाइबुहारी र उनीहरूका तीन सन्तान बस्छन्।
घर सिल गरिएपछि परिवारका सदस्य बाहिर निस्किन पाएका छैनन्। न त उनीहरूले दैनिक उपभोग्य सामग्री नै खरिद गर्न पाएका छन्। स्थानीय तह र छिमेकीले पनि उनीहरूलाई सहयोग गरेका छैनन्। कोरोना संक्रमितको घर भन्दै कोही नजिकै आउँदैन।
१२ किलोमिटर हिँडेर कोरोना परीक्षण
कोरोना आशंका गरिएका उनी दुई दिनअघि ६ किलोमिटर पैदल यात्रा गर्दै कोरोना परीक्षणका लागि धनगढी पुगे । परीक्षणपछि हिँडेरै घर फर्के । सुस्त मनिस्थितिका उनलाई सम्हाल्न अगाडि ५९ वर्षीया आमा थिइन् भने पछाडि ६५ वर्षीय बुवा । र, सँगै थिए, प्रहरी ।
बिहान ८ बजे घरबाट हिँडेका उनीहरू परीक्षणपछि दिउँसो २ बजे घर फिर्ता भएका थिए । एम्बुलेन्स वा अन्य सवारी साधनको व्यवस्था नहुँदा उनीसँग उनका वृद्ध बाबुआमाले पनि पैदल १२ किमीको दूरी तय गर्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस्