फेलिक्सको दुई गोल प्रेरणामा एट्लेटिकोको फराकिलो जित

काठमाडौं। पोर्चुगलका फरवार्ड जोओ फेलिक्सको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले गएराती ओसासुनामाथि ५-० को सहज नतिजा निकाल्दै स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ।

२० वर्षे फरवार्ड फेलिक्स गत जुलाईमा बेनफिकाबाट ११ करोड ३० लाख पाउण्डमा एट्लेटिकोसँग अनुबन्ध भएका थिए। २७औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिएका फेलिक्सले ५६औं मिनेटमा अग्रता दोब्बर बनाए। एट्लेटिकोको बाँकी तीन गोल अन्तिम ११ मिनेटमा सम्भव भएको थियो।

तेस्रो गोल मार्कोस लोरेन्टेले ७९औं मिनेटमा गरेका थिए भने ८२औं मिनेटमा अल्भारो मोराटाले चौथो गोल गरे। खेल सकिन दुई मिनेट बाँकी रहँदा यानिक कारास्कोले अर्को गोल थपेपछि भ्रमणकारी एट्लेटिकोले सहज जित निकालेको थियो।

महामारीका कारण स्थगित भएर ला लिगा पुनः शुरू भएपछि डिएगो सिमोनीले एट्लेटिकोले दुई खेलबाट चार अंक जोडेको छ। एट्लेटिकोले यसअघि एथ्लेटिक विल्बाओसँग १-१ को बराबरी खेलेको थियो।

खेलअघि छैटौं स्थानमा रहेको एट्लेटिको जितसँगै लिगको चौथो स्थानमा उक्लिएको छ। एट्लेटिकोले २९ खेलबाट ४९ अंक जोडेको छ। जुन पाँचौं स्थानको रियाल सोसिडाडभन्दा दुई अंकले अगाडि हो। यद्यपि रियाल सोसिडाडले एक खेल कम खेलेको छ। ३५ अंक जोडेको ओसासुना भने ११औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्