मनसुनी वायुको प्रभावः प्रदेश १, २ र गण्डकी प्रदेशमा पहिरोको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा तीन दिन पानी पर्ने जनाएको छ।

अहिले प्रदेश १, प्रदेश ५, कर्णाली र सुदूरपश्‍चिममा पूर्ण बदली र प्रदेश २, वागमती र गण्डकी प्रदेशमा मौसमको अवस्थामा सामान्य बदली छ। प्रदेश १ का केही स्थानमा वर्षा भइरहेको छ।

‘प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थान तथा कर्णाली र सुदूरपश्‍चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ महाशाखाद्वारा आज बिहान जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, वागमती, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।’

आज प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुँदा ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक यातायात प्रभावित हुने सम्भावना रहेकाले सबैलाई सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ।

भोलि दिउँसो सुदूरपश्‍चिम, कर्णाली र प्रदेश ५ मा सामान्य र बाँकी प्रदेशमा पूर्ण बदली रहने विभागको पूर्वानुमान छ। भोल प्रदेश १, प्रदेश २, वागमती, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

शनिबार दिउँसो सुदूरपश्‍चिममा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, वागमती, गण्डकी र प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्‍चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने विभागले जनाएको छ। वागमती, गण्डकी र प्रदेश ५ का एक-दुई स्थानमा शनिबार भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्