चाैरजहारी घटनाका २१ अभियुक्तको सकियो बयान
पश्चिमरूकुम। ६ जनाकाे ज्यान जाने गरी भएकाे चौरजहारी घटनामा अभियोग लागेकाहरूको बयान रुकुम अदालतमा जारी छ।

१ असारदेखि शुरू भएको बयानअन्तर्गत आज थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ।

यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ।

पक्राउ परेकामध्ये अब आठजनाको मात्र बयान बाँकी रहेको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए।

१ असारमा दुई नाबालक र  हिजाे ९ जनाको बयान सकिएको थियो।

उनीहरू सबैको बयान सकिएपछि थुनछेक बहस शुरू हुने स्रेष्तेदार बोहराको भनाइ छ।

“पक्राउ परेका प्रतिवादीहरूको बयान भोलिसम्ममा सकिने देखिएको छ”, उनले भने, “बयान सकिएलगत्तै थुनछेक बहस शुरू हुनेछ, समय भए भोलिबाटै पनि थुनछेक बहस शुरू हुन सक्छ ।”

१० जेठमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोप लगाउँदै जिल्ला सरकारी वकिल कार्यालयले रुकुम अदालतमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ।

तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँच जना फरार छन्।

३४ मध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसूरमा मुद्दा दर्ता गरिएको छ भने एक जनाविरुद्ध मतियारको मुद्दा लगाइएको छ।

यसैबीच बयान र थुनछेक बहस सकिएका दुई नाबालकलाई भने मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिइसकेको छ। रासस

प्रतिक्रिया दिनुहोस्