प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल दार्चुलाको छांगरुतर्फ

काठमाडौं। दार्चुलाको कालापानी नजिकैको छागंरुमा सशस्त्र प्रहरीले स्थापना गरेको बीओपी र सेनाको अस्थायी बेस क्याम्पको निरीक्षणमा बिहानै दुवै सुरक्षा निकायका प्रमुखहरू त्यसतर्फ प्रस्थान गरेका छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल नेपाली सेनाको स्काइट्रकमार्फत् आज बिहानै त्यसतर्फ प्रस्थान गरेका हुन्। भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणमा उनीहरू गएका हुन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रधानसेनापतिसहितको टोली सेनाले निर्माण गरिरहेको घोरेटो बाटो, सेनाको अस्थायी बेस क्याम्प, सशस्त्र प्रहरीले स्थापना गरेको बीओपीलगायतको औपचारिक निरीक्षण गर्न दार्चुलातर्फ प्रस्थान गरेको जानकारी दिए।

उनका अनुसार प्रधानसेनापतिले सुदुरपश्‍चिम पृतनालगायतको निरीक्षण गर्ने कार्यक्रम पनि छ। सेनाको स्काइट्रकबाट धनगढी गएको टोलीले त्यहाँबाट सेनाकै हेलिकप्‍टरमार्फत छागंरुलगायत क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ। गृहमन्त्रालयले केही समयअघि दार्चुलाको कालापानीनजिकै ब्यास नगरपालिकामा पर्ने छागंरुमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको थियो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले धनगढी हुँदै दार्चुलासम्म आउनेबारे हिजो कुराकानी भए पनि अहिलेसम्म आफूलाई आधिकारिक जानकारी आइनसकेको बताए।

प्रतिक्रिया दिनुहोस्