पशुपति मन्दिर परिसर सरसफाइका लागि भारतको सहयोग

काठमाडौं। पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाइ सुविधा निर्माण गर्न भारत सरकारले तीन करोड सात लाख २३ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सन् १९७९ देखि युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र मन्दिर परिसरमा सरसफाइ सुविधा निर्माणका लागि भारतीय राजदूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी वा पहिले एसडीपीज) को रूपमा यस परियोजनालाई नेपाल–भारत मैत्रीः विकास साझेदारीअन्तर्गत अनुदान दिनेछ।

यस परियोजनाको प्रस्ताव पशुपति क्षेत्र विकास कोष (पीएडीटी) ले भारतीय राजदूतावासलाई सन् २०१९ को अक्टोबर महीनामा पठाएको थियो। यो परियोजनाको कार्यान्वयन काठमाडौं महानगरपालिकाले नेपाल सरकारले तोकेको मापदण्डअनुरूप गर्ने बताइएको छ।

सहमति अनुसार १५ महीनामा निर्माण कार्य सम्पन्न गर्नका लागि महानगरपालिकाले टेन्डर प्रक्रियामार्फत् उपयुक्त ठेकेदारको पहिचान गर्नेछ।

पशुपतिनाथ मन्दिर नेपालको प्राचीन मन्दिर हो। यहाँ हरेक दिन हजारौंको संख्यामा भक्तजनहरू आउँछन्।

सन् २०१४ को अगस्ट महीनामा नेपाल र भारत दुवै सरकारले सरसफाइ परियोजनामा सहमति जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्