प्रधानमन्त्रीकाे सम्बाेधन- 'महामारी समाप्तीसँगै शैक्षिक प्रणाली परिमार्जन हुनेछ'

काठमाठौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको समाप्तीसँगै हाम्रो शैक्षिक प्रणालीमा पनि नयाँ परिमार्जन हुने सम्भावना बढेर गएको बताएका छन्।

विद्यालय तहका बालबालिकाहरुको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरु भएको घोषणा गर्दै प्रधानमन्त्रीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) को विकल्पमा जान हामीलाई अहिलेको परिस्थितिले उत्प्रेरित गरिरहेको बताएका हुन्।

उनले कोरोना महामारीले सिर्जना गरेको प्रतिकूलताका सँगै केही अवसर पनि सिर्जना हुँदै गएको बताएका छन्। “प्रविधि, अब हाम्रा घर÷घरमा प्रवेश गर्दै छ। यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ। कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनु पर्छ,” प्रधानमन्त्रीले भनेका छन्,“मैले हाम्रो मुलुकको अवस्थालाई पनि मनमा राखेको छु। हाम्रो विकास समान स्तरमा छैन। प्रविधिको पहुँच एकै नासको पनि छैन। सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन।”

वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको प्रधानमन्त्रीको भनाइ छ। त्यसैको आधारमा विद्यार्थीहरुको पहिचान र वर्गीकरण गरिएको छ।

सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि अध्ययन गर्ने कक्षा यकिन गरी पाठ्यपुस्तक उपलब्ध गराई पठनपाठन सञ्चालन गराउने सरकारको योजना रहेको प्रधानमन्त्रीको भनाइ छ। रेडियोको पहुँच भएका विद्यार्थी समूहका लागि स्वअध्ययनका सामग्री सहित रेडियोका माध्यमबाट पठनपाठन सञ्चालन गराउने, टेलिभिजनको पहुँच भएका विद्यार्थी समूहका लागि टेलिभिजन मार्फत पठनपाठन सञ्चालन गराउने, कम्प्युटरमा पहुँच भएका विद्यार्थी समूहलार्ई अफलाइन सामग्रीहरु उपलव्ध गराई पठनपाठन सञ्चालन गराउने र इन्टरनेट तथा सूचना संचार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी समूहका लागि अनलाईन सिकाइ सामग्रीको प्रयोगबाट पठनपाठन सञ्चालन गराउने व्यवस्था गरिएको प्रधानमन्त्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्