उपाधि होडमा बार्सिलोनालाई रियालको दबाब

काठमाडौं। प्रशिक्षकका रूपमा जिनेदिन जिदानको २००औं खेलमा रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा इबरमाथि ३-१ को नतिजा निकालेको छ।

बेर्नाबेउ रंगशाला पुनर्निर्माण भइरहेका कारण रियालले आफ्नो होम खेल उनीहरूको ट्रेनिङ मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा खेलेको थियो। जुन रियालको ‘बी’ टीमको घरेलु मैदान हो। उक्त रंगशाला जम्मा ६ हजार दर्शक क्षमता थियो। तर कोभिड-१९ महामारीका कारण लिगमा अहिले दर्शक प्रवेशमा रोक लगाइएको छ।

टोनी क्रुसले चौथो मिनेटमै रियाललाई अग्रता दिएका थिए। इडेन हाजार्डको पासमा सर्जियो रामोसले ३०औं मिनेटमा रियालको अग्रता दोब्बर बनाए। त्यसको सात मिनेट बित्‍न नपाउँदै मार्सेलोले तेस्रो गोल थपे। ६०औं मिनेटमा पेड्रो विग्सले गरेको गोल इबरको लागि सान्त्वना बन्यो।

दोस्रो रियालको प्रशिक्षण सम्हालेका जिदान क्लबको इतिहासमा २०० खेलमा प्रशिक्षक बन्‍ने तेस्रो खेलाडी बनेका छन्। फ्रान्सका लिजेन्ड जिदानले रियालबाट प्रशिक्षकका रूपमा १० उपाधि जितिसकेका छन्।

यस जितसँगै रियालले शीर्ष क्लब बार्सिलोनासँगको दूरी पुनः दुई अंकमा छोट्याएको छ। रियालले साविक विजेता बार्सिलोनामाथि उपाधि होडमा दबाब सिर्जना गरेको छ।

६१औं मिनेटमा मैदान छाडेका रियालका कप्तान रामोसले लिग पुनः शुरू भएकामा आफू सन्तुष्‍ट रहेको बताए। उनले भने, ‘‘हामी फेरि खेल्न शुरू गरेका छौं र पहिलो खेलमा तीन अंक जोड्न सफल भयौं। यसबाट म खुशी छु। हामीले उपाधिका लागि अझै १० वटा फाइनल खेल्न बाँकी छ। बाँकी खेलमा राम्रो नतिजा निकाल्न हामी सबथोक गर्न तयारी छौं।’’

गएराति नै भएको खेलमा डिएगो सिमोनीको एट्लेटिको मड्रिडले एथलेटिक विल्बाओसँग १-१ को बराबरी खेलेपछि शीर्ष चारमा उक्लने मौका गुमाएको छ। बराबरीसँगै एट्लेटिको ४६ अंकका साथ छैटौं स्थानमा छ। जुन चौथो स्थानको रियाल सोसिडाडभन्दा एक अंकले पछाडि हो। एथलेटिक विल्बाओ भने ३८ अंकका साथ दशौं स्थानमा छ।

चौथो स्थानको रियाल सोसिडाडले पनि एघारौं स्थानको ओसासुनासँग १-१ को बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्