पहिराेले गरेकाे जनधनकाे क्षतिप्रति गण्डकी प्रदेशका सभामुखद्वारा दुःख व्यक्त

कास्की। गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङको ढकाल बारीमा गएरातिको पहिरोमा परी आठको मृत्यु र एकजना बेपत्ता भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।

आज एक शोक वक्तव्य जारी गर्दै उनले सो दुःखद घटनाका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

संकटपूर्ण यस समयमा परिवार गुमाउने तथा प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापना तथा पहिरोको जोखिममा परेका वस्ती संरक्षणमा तदारुकताका साथ काम गर्न सभामुख अधिकारीले सरकारसँग आग्रहसमेत गरेका छन्।

घरभन्दा ३०० मिटर माथिबाट आएको सो पहिरोमा परी दुई घरका ९ जना पुरिएकामा आठजनाको शव फेला परेको र एकजना बेपत्ता भएका थिए।

आज नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले घटनास्थलको निरीक्षण गरी पीडित मृतकका परिवारलाई सरकारका तर्फबाट जनही ५० हजार रूपैयाँका दरले राहत प्रदान गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्