दुई सय ५९ जना नेपालीलाई ढाकाबाट काठमाडौं ल्याइँदै

काठमाडौं। बंगलादेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान ढाकातर्फ उडेको छ।

अपराह्न २.३० मा दुई सय ५९ जना नेपालीलाई लिएर उक्त विमान त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

विदेशमा अलपत्र नेपालीलाई निगमका विमानले आजदेखि स्वदेश ल्याउन शुरु गरेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन्।

सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपालीलाई स्वदेश फर्काउने तालिका बनाएको छ। उनीहरू जुन महीनाभरिमा स्वदेश ल्याइसकिनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई २४ र हिमालय एअरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको छ। यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ।

निगमको अपरेसन विभागका अनुसार निगमका विमानले आज ढाका, भोलि माल्दिभ्सको माले र मलेसियाको क्वालालम्पुरमा उडान गर्नेछन्।

यस्तै, १६ जुनमा दुबई र कतारको दोहा, १७ जुनमा अस्ट्रेलियाको सिड्नी, थाइल्यान्डको बैंकक र बहराइन उडान गर्ने तालिका छ। १८ जुनमा साउदी अरेबियाको रियाद र दुबई, १९ जुनमा जापानको नारिता र कुवेत, २० जुनमा साइप्रस, क्‍वालालम्पुर र दोहा उडान हुनेछन्।

प्रतिक्रिया दिनुहोस्