मेसीको कीर्तिमानी गोलमा बार्सिलोनाको सहज जित

काठमाडौं। लियोनल मेसीको कीर्तिमानी गोलमा बार्सिलोना गए राति स्पेनिस ला लिगामा मालोर्कामाथि ४-० को सहज विजय हासिल गरेको छ। यससँगै महामारीका कारण स्थगित भएर पुनः शुरू भएको लिगमा बार्सिलोनाले सुखद शुरूआत गरेको छ।

अर्टुरो भिडालले दोस्रो मिनेटमै गरेको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। भिडालले जोर्डी अल्बाको पासमा गोल गरेका थिए। ३७औं मिनेटमा मेसीको पासमा मार्टिन्स ब्रेथह्वाइटले बार्सिलोनाका अग्रता दोब्बर बनाए।

७९औं मिनेटमा मेसीकै पासमा अल्बाले तेस्रो गोल गरे। इन्जुरी समयमा मेसीले अर्को गोल थपेपछि बार्सिलोनाले ४-० को सहज विजय हासिल गरेको थियो। मेसीले वैकल्पिक खेलाडी लुइस स्वारेजको पासमा गोल गरेका थिए। स्वारेज ५७औं मिनेटमा एन्टोइन ग्रिजमनको स्थानमा मैदान छिरेका थिए। घुँडाको चोटका कारण स्वारेज गत जनवरीबाट मैदान बाहिर थिए।

जारी लिगमा मेसीको २०औं गोल हो। स्पेनिस ला लिगामा लगातार १२औं सिजन २० पुरा गर्ने मेसी एक्ला खेलाडी बनेका छन्।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँगको दूरी पाँच अंकले बढाएको छ। तथापि रियालले एक खेल कम खेलेको छ। रियालले आज इबरसँग प्रतिस्पर्धा गर्नेछ। मालोर्का भने २५ अंकका साथ रेलिगेसन क्षेत्रमा छ।

गए राति सम्पन्‍न अन्य खेलमा स्पानियोलले डेपोर्टिभो आलाभेसलाई २-० ले पराजित गर्‍यो। त्यस्तै भिल्लारियलले सेल्टाभिगोलाई १-० ले हराउँदा रियाल भालाडोलिडले लेगानेसलाई २-१ ले पराजित गर्‍यो।

प्रतिक्रिया दिनुहोस्