पर्वतको कुश्मामा पहिरो जाँदा ६ जनाको मृत्यु, अझै तीन बेपत्ता
पर्वत। गएराति पर्वतको कुश्मामा गएको पहिरोमा पुरिएमध्ये ६ जनाको शव फेला परेको छ। अझै तीन जना बेपत्ता छन्।

कुश्मा नगरपालिका ३ मा गएराति ९ बजेतिर पहिरो जाँदा दुई घरसँगै ९ जना पुरिएका थिए। उनीहरुमध्ये ६ जनाको शव फेला परेको र तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए।

५२ वर्षीय तुलाबहादुर थापाको र कमला विकको घर पहिरोमा परेको हो। थापासहित उनका ५२ वर्षीया श्रीमती मिनकुमारी थापा, नातिनी ८ वर्षीया विनिसा थापा, दीपा थापा, कमला विकको शव फेला परेको हो।

शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि पहिरो गएको थियो। स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए ।

स्थानीयवासी र सुरक्षाकर्मीले खोजी कार्य जारी राखेका छन्। राति १ बजेसम्म खोजी गरेपछि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएका थिए। पहिरोले उनीहरुका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन्। झण्डै चार सय मिटरभन्दा माथिबाट पहिरो आएको थियो।

प्रतिक्रिया दिनुहोस्