बायर्नलाई बुन्डेसलिगा जित्न अब एक जित पर्याप्त

काठमाठौं। लियोन गोरेट्जकाले अन्तिम समयमा गरेको गोलमा बायर्न म्युनिखले गएराती जर्मन बुन्डेसलिगामा बोरूसिया मोन्चेनग्लाडबचलाई २-१ ले पराजित गरेको छ। जितसँगै बायर्न लिग उपाधि नजिक पुगेको छ। साविक विजेता बायर्नलाई लिगमा उपाधि पक्का गर्न एक जित पर्याप्त छ।

घरेलु टीम बायर्नका लागि खेल सकिन चार मिनेट बाँकी रहँदा गोरेट्जकाले गरेको गोल निर्णायक बन्यो। बेन्जामिन पाभर्डले दायाँ भागबाट गरेको क्रसलाई गोरेट्जकाले पोस्टको दिशा दिएका थिए।

जितसँगै बायर्नले ३१ खेलबाट ७३ अंक जोडेको छ। जुन दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा सात अंकले धेरै हो। लिगामा अब १२ अंकको खेल बाँकी छ। त्यसैले मंगलबार वेर्डर ब्रेमनलाई पराजित गरे बायर्नले लगातार आठौं पटक बुन्डेसलिगाको उपाधि पक्का गर्नेछ।

मंगलबारको खेलपछि लिगमा ९ अंकको खेल बाँकी रहन्छ। उक्त खेल जिते बायर्नले दोस्रो स्थानको डर्टमण्डलाई १० अंकले पछि पार्दै उपाधि पक्का गर्नेछ।

हारका बाबजुद मोन्चेनग्लाडबच चौथो स्थानमा छ। मोन्चेनग्लाडबचको ५६ अंक छ। जुन पाँचौं स्थानको बायर लेभरकुसेनसँग बराबरी हो। लेभरकुसेनले आज साल्केले पराजित गरेमा चौथो स्थानमा उक्लनेछ।

गोरेट्काले निर्णायक गोल गर्नुअघि विपक्षी रक्षक र गोलकिपरबीच तालमेल नमिल्दाको फाइदा लिँदै युवा फरवार्ड जोशुवा जिर्कजीले गरेको गोलबाट बायर्नले २६औं मिनेटमा अग्रता लिएको थियो। मोन्चेनग्लाडबचका गोलकिपर यान सोमरले दिएको पास सीधै जिर्कजीको खुट्टामा परेको थियो। उनले २० यार्डबाट कुनै गल्ति नगरी गेल गरेका थिए।

३७औं मिनेटमा पाभर्डको आत्मघाती गोलमा भ्रमणकारी मोन्चेनग्लाडबचले बराबरी गरेको थियो। प्याट्रिक हर्मनले दायाँ भागबाट गरेको क्रसलाई क्लियर गर्ने क्रममा पाभर्डले आफ्नै पोस्टमा गोल गरेका थिए।

त्यसअघि जोन्स होफमनले १६औं मिनेटमा गरेको गोललाई भिडियो सहायक रेफ्रीले (भीएआर) अफसाइड घोषित गरिदिए पछि मोन्चेनग्लाडबचले अग्रता लिने मौका गुमाएको थियो।

बायर्नको दुई मुख्य खेलाडी रोवर्ट लेवन्डस्की र थोमस मुलर टीममा थिएनन्। दुई मुख्य खेलाडीका नहुँदा पनि बायर्नले मुख्य प्रशिक्षक हान्सी फ्लिकको प्रशिक्षणमा २५औं जित हासिल गरेको हो। गत नोभेम्बरमा निको कोभाचले छाडेपछि बायर्नले फ्लिकको प्रशिक्षणमा २८ खेल खेलेको छ।

बायर्नका प्रशिक्षक फ्लिकले यो महत्वपूर्ण जित भएको बताए। उनले भने, ‘‘जितसँगै हामीले दोस्रो स्थानको टीमसँग समान दुरी कायम राख्‍न सफल भएका छौं। यो ठूलो नतिजा हो र यसबाट म खुशी छु। हामी यो विजयी यात्रालाई निरन्तरता दिन चाहन्छौं।’’

प्रतिक्रिया दिनुहोस्