आमाको दूधबाट कोरोना सर्दैनः डब्लूएचओ

जेनेभा। कोभिड-१९ पोजिटिभ देखिएकी आमाको दूध खाँदा बच्चामा कोरोना भाइरस नसर्ने विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्पष्‍ट गरेको छ।

डब्लूएचओका महानिर्देशक टेड्रोस अदानम गेब्रेयससले आफ्ना नवजात शिशुलाई स्तनपान जारी राख्‍न कोभिड-१९ पोजिटिभ देखिएका आमाहरूलाई अपील गरेका छन्।

“त्यसै पनि बयस्कको तुलनामा बालबालिकामा कोरोना भाइरस संक्रमणको जोखिम कम हुन्छ। र, अन्य बिमारीबाट आमाको दूधले बचाउँछ,” गेब्रेयससले भने, “अहिलेसम्मको अनुसन्धानबाट आमाको दूधमार्फत कोरोना भाइरसको प्रसार नहुने स्पष्‍ट छ।”

स्वास्थ्यस्थिति धेरै खराब नभएका आमाले बच्चालाई दूध खुवाउन रोक्नु नपर्ने उनले बताए।

डब्लूएचओका रिप्रोडक्टिभ हेल्थ सल्लाहकार डा. अंशु बनर्जीले आमाको दूधमा कुनै पनि प्रकारको लाइभ भाइरस अहिलेसम्म फेला नपरेको बताए। “त्यसैले आमाको दूधबाट भाइरस सर्दैन,” उनले भने।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्स (सीडीसी)ले पनि आमाको दूधबाट कुनै पनि भाइरस सरेको प्रमाण नभएको बताएको छ। तर, कोभिड-१९ पोजिटिभ देखिएका आमाहरूले बारम्बार हात धुन र मास्क लगाउन आवश्यक रहेको सीडीसीले बताएको छ।

बेलायती सार्वजनिक स्वास्थ्य सेवा (एनएचएस)ले पनि सोही सल्लाह दिएको छ।

प्रतिक्रिया दिनुहोस्