कैलालीका नदीमा देखिन थाले डल्फिन

कैलाली। पानीको जलस्तर वृद्धि भएसँगै कैलालीका मोहना, पथरैया र काँडा नदीमा डल्फिन देखिन थालेका छन्।

एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्न मन पराउने डल्फिन कर्णाली हुँदै साना नदीमा आएका हुन्।

अरू बेला मध्य असारदेखि मात्रै देखिने डल्फिन यस वर्ष पानी परिरहेका कारण जेठ अन्तिममै देखिन थालेका छन्।

असारदेखि असोजसम्म यी नदीमा डल्फिन सजिलै देख्‍न सकिन्छ। शनिबार दिउँसो मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुई वटा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र टीकापुर नगरपालिका ७ बैदी ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले बताए।

उनका अनुसार अरू वर्ष असार दोस्रो सातादेखि मात्रै डल्फिन देखिन्थे।

डल्फिन हेर्न मोहना, पथरैया र काँडा नदीको दोभानमा स्वदेशी-विदेशी पर्यटक आउने गरेको उनले बताए। उनका अनुसार अमेरिका, इंग्ल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, फ्रान्स, भारतका पर्यटक डल्फिन हेर्न आउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्