कञ्चनपुरमा रुखको हाँगा खसेर दुर्घटना भएपछि दुईजना पक्राउ

कैलाली। कञ्चनपुर प्रहरीले रुखको हाँगा खसेर भएको दुर्घटनामा दुईजनालाई पक्राउ गरेको छ।

मालुबेला सडकमा रुखमा चढेर हाँगा काटिरहेका ५० वर्षीय प्रकाश चौधरी र ग्वासी विद्युत सहकारी संस्थाका अध्यक्ष प्रेम कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

चौधरीले नै काटेको हाँगा चल्दै गरेको मोटरसाइकलमाथि खस्दा दुर्घटना भएकाले उनी र अध्यक्ष कार्कीलाई पक्राउ गरिएको थापाले बताए।

आज बिहान कृष्णपुर नगरपालिका-४ का ३० वर्षीय ज्ञानेन्द्र खड्का मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते छन्। धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत खड्कालाई अन्यत्र रेफर गर्ने तयारी छ। तर, उनलाई २ वर्षीय छोरीले कहिल्यै नफर्किने गरी गएको पत्तो छैन।

छोरीले सधैँझैँ मोटरसाइकलमा घुमाउन भनेपछि बिहानै करीब साढे ६ बजेको समयमा मालुबेला रैकवार सडकखण्डमा निस्किएका थिए उनी।

बिहानी पखको स्वच्छ हावाको आनन्द लिँदै बाबुछोरी गफिँदै अघि बढिरहेको थिए। एक्कासि माथिबाट रुखको हाँगा उनको मोटरसाइकलमा पर्‍यो। उनी छोरीसहित सडकमा लडे। दुवैजना गम्भीर घाइते भए। उनीहरूलाई उद्धार गरेर तत्काल धनगढीको माया मेट्रो अस्पताल पुर्‍याइयो।

उपचारकै क्रममा छोरीको मृत्यु भयो भने ज्ञानेन्द्र गम्भीर घाइते भएका छन्। उनलाई छोरीको अवस्थासमेत थाहा छैन।

बालिकाको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्