कैलालीका थप ६ स्थानमा सशस्त्रका बोर्डर आउट पोस्ट

कैलाली। सशस्त्र प्रहरीले कैलालीका ६ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ।

कैलालीको भारतसँग एक सय एक किलोमिटर सीमा जोडिएको छ। यसअघि तीनवटा बीओपी स्थापना भइसकेका थिए।

सशस्त्र प्रहरीको नम्बर ३४ गणका गणपति एसपी कमलप्रसाद तिमिल्सिनाका अनुसार ३० मंसिर २०७६ को मन्त्रिपरिषद्ले भारतसँगको सीमामा थप एक सय १४ वटा बीओपी स्थापना गर्ने निर्णय गरेको थियो। तीमध्ये ६ वटा कैलालीमा परेका थिए।

कैलारी गाउँपालिका ७ भुइँयाफाँटा, धनगढी उपमहानगरपालिका ९ बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका ३ खोनपुर, भजनी नगरपालिका ७ हिक्मतपुर र टीकापुर नगरपालिका ८ श्रीलंकाटापुमा बीओपी स्थापना भएका हुन्।

सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी प्रमुख डीआईजी हरिशंकर बुढाथोकीले ती सबै बीओपी उद्घाटन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्