मालोर्काविरुद्ध बार्सिलोनाका मेसी र स्वारेज दुवै उपलब्ध हुने

काठमाडौं। साविक विजेता बार्सिलोनाले आज राति मालोर्काको भ्रमणमा गर्दा टीमका महत्त्वपूर्ण सदस्य लियोनल मेसी र लुइस स्वारेज दुवै उपलब्ध हुने भएका छन्।

कोभिड-१९ महामारीका कारण लिग स्थगित भएपछि चोटबाट गुर्जिएका स्वारेजले फिट मौका पाए। ३३ वर्षे फरवार्ड स्वारेज दायाँ घुँडाको शल्यक्रियाका कारण गत जनवरीबाट मैदानबाहिर थिए।

ला लिगामा धेरै गोल गर्ने खेलाडी लियोनल मेसीको पनि तिघ्रामा चोट लागेको थियो। अर्जेन्टिनाका ३२ वर्षे मेसी यसै साताबाट बार्सिलोनाको अभ्यासमा फर्किएका छन्। ९७ दिनपछि पुनः शुरू हुन लागेको ला लिगाको खेलमा दुवै खेलाडी उपलब्ध हुने बीबीसीले जनाएको छ।

‘‘अभ्यासमा मेसीले सबै राम्रो गरेका छन्। उनलाई केही समस्या छैन,’’ बार्सिलोनाका प्रशिक्षक क्‍वेक सेटिनले भने, ‘‘स्वारेजले पनि सोचेभन्दा राम्रो गरिरहेका छन्। तर लामो समय मैदानबाहिर रहेका कारण उनी आफू शुरूआती ११ मा खेल्न तयार छन् कि छैनन् भन्‍ने हो।’’

रक्षक सामुयल उम्टिटी पनि फिट भएका छन्। तथापि फ्रान्सका अर्का रक्षक क्लेमेन्ट लेङलेट निलम्बनमा छन्। त्यसैले उनको स्थानमा २१ वर्षे रोनाल्ड अराउजोले मौका पाउने सम्भावना पनि छ। अराउजोले मौका पाए बार्सिलोनाबाट उनको दोस्रो खेल हुनेछ।

१ मार्चमा सम्पन्‍न एल क्लासिकोमा बार्सिलोनालाई २-० ले हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको थियो। तर ७ मार्चमा मेसीले अन्तिम समयमा पेनाल्टीमा गरेको गोलमा बार्सिलोनाले रियाल सोसिडाडलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो। रियालले भने रियाल बेटिससँग २-१ ले पराजित भएपछि पुनः शीर्ष स्थानमा उक्लने मौका गुमाएको थियो।

लिगमा ११ खेल बाँकी हुँदा बार्सिलोना ५८ अंकका साथ शीर्ष स्थानमा छ। दोस्रो स्थानको रियाल मड्रिडले ५६ अंक जोडेको छ। बार्सिलोनालाई आतिथ्यता प्रदान गर्ने मालोर्का भने २५ अंकका साथ रेलिगेसन क्षेत्रमा छ।

प्रतिक्रिया दिनुहोस्