ओल्मोको दुई गोलमा लाइपजिगको सहज जित

काठमाडौं। डानी ओल्मोको दुई गोलप्रेरित आरबी लाइपजिगले गएराती जर्मन बुन्डेसलिगामा होफेनहेइमलाई २-० ले पराजित गरेको छ। जितसँगै लाइपजिगले दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डसँगको दूरी एक अंकमा छोट्याएको छ।

स्पेनका मिडफिल्डर ओल्मोले नवौं मिनेटमा विपक्षी दुई रक्षकलाई कटाएर आठ यार्डबाट हानेको प्रहार गोलमा परिणत भएको थियो। त्यसको दुई मिनेट बित्‍न नपाउँदै उनले अर्को गोल थपेका थिए। मार्सेल साबिट्जरले हेडमार्फत दिएको ‘ब्याक पास’मा ओल्मोले हानेको प्रहार होफेनहेइमका गोलकिपर ओलिभर बाउमनले रोक्न सकेनन्।

जितसँगै लाइपजिगले ३१ खेलबाट ६२ अंक जोडेको छ। जुन दोस्रो स्थानको डर्टमण्डको भन्दा एक अंकले कम हो भने शीर्ष क्लब बायर्न म्युनिख भन्दा आठ अंकले पछि हो। तथापि बायर्न डर्टमण्ड दुवैले एक खेल कम खेलेका छन्।

लाइपजिगले इङ्लिस प्रिमियर लिग चेल्सीसँगको अनुबन्धन पक्का गरेका जर्मन फरवार्ड टिमो वर्नेरलाई पनि शुरूआति ११ मा समावेश गरेको थियो। घरेलु टीम होफेनहेइमले शुरूमै पेनाल्टी अवसर पाएको थियो। तर रेफ्रीको उक्त निर्णयलाई भिडियो सहायक रेफ्री (भिएआर)ले गलत सावित गरिदिएको थियो।

बुन्डेसलिगामा जारी सिजन २५ गोल गरिसेका वेर्नरले गोल गर्ने राम्रो मौका खेर फलेका थिए। त्यस्तै वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका एडमोला लुकम्यानले पनि गोलका राम्रा अवसर सदुपयोग गर्न नसक्दा लाइपजिगले गोल अन्तर बढाउने मौका गुमाएको थियो।

दोस्रो स्थानको डर्टमण्डले डेसेलडोर्फसँग पराजित हुनुका साथै बोरुसिया मोन्चेनग्लाडबचमाथि विजय हासिल गर्‍यो भने बायर्न म्युनिखले आज लगातार आठौं पटक जर्मन बुन्डेसलिगाको उपाधि पक्का गर्नेछ।

प्रतिक्रिया दिनुहोस्