विदेशमा अलपत्र ५११ नेपाली स्वदेश फिर्ता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हिजो, २९ जेठसम्म विदेशमा अलपत्र परेका ५०० भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ।

संघका अध्यक्ष कुमार पन्तका अनुसार हिजो मात्र कुवेत सरकारको सहयोगमा २९९ नेपाली स्वदेश फर्किएका छन्।

कुवेतको घर फिर्ती शिविरमा थप दुई हजार ९९१ जना रहेको र उनीहरूलाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भइरहेको पन्तले बताए। गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दूतावासको समन्वयनमा उनीहरूलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।

अहिलेसम्म म्यानमारबाट २६, दुबईबाट १६८, अष्ट्रेलियाबाट ११, जापानबाट सात र कुवेतबाट २९९ गरी पछिल्लो समय ५११ जनालाई उद्धार गरिसकिएको छ ।

अलपत्र परेका बाँकी नेपालीको उद्धारका लागि यथाशीघ्र पहल गर्न एनआरएनएले सरकारसँग आग्रह गरेको छ।

विभिन्‍न देशबाट कूल ५० हजार ९३ जनाले निवेदन दिएकामा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चार्टर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ।

कोभिड-१९ को प्रभावका कारणले मलेशिया र खाडी देशमा मात्र करीब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा छन् । रासस

प्रतिक्रिया दिनुहोस्