कुवेतबाट १६१ नेपाली महिला कामदार काठमाडौं आइपुगे
काठमाडौं। कुवेतबाट १६१ जना नेपाली कामदार काठमाडौं आइपुगेका छन्। जजिरा एअरलाइन्सको जहाजमा उनीहरू आज विहान ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

उनीहरूलाई कुवेत सरकारले जहाज उडानको व्यवस्थापन गरेर काठमाडौं ल्याइदिएको हो। विमानस्थलमा अहिले उनीहरूको स्वास्थ्य परीक्षण गरेर प्रदेश अनुसार तोकिएको होल्डिङ सेन्टरमा लैजाने काम भइरहेको छ।

उनीहरू कम्तिमा १४ दिन क्वारेन्टिनमा बसेपछि मात्रै आफ्नो घर जान पाउनेछन्।

आज कुवेतबाट ३०० जना कामदार काठमाडौं आइपुग्ने छन्। अरू यात्रु लिएर जजिरा एअरलाइन्सको अर्को जहाज दिउँसो दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ।

कुवेतबाट आज फर्कने सबै नेपाली कामदार महिला रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीहरूलाई होल्डिङ सेन्टरमार्फत व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ।

कुवेत सरकारले आम माफी दिएका र आश्रय क्याम्पमा बसिरहेकाहरूलाई नेपाल ल्याइदिन लागेको हो।

कुवेत सरकारले २६ देखि ३० अप्रिलसम्म आममाफीका लागि आवेदन आह्वान गरेको थियो। त्यसबेला आवेदन गरेका करीब २९ सय जना नेपाली कुवेतमा आममाफी पाएर विभिन्न क्याम्पमा बसिरहेको कुवेतस्थित नेपाली राजदूतावासले बताएको छ।

कुवेतमा विभिन्न सजाय पाएका, रोजगारी परिवर्तन गरेर अवैध रूपमा बसिरहेका र भिषा अवधि सकिएका कामदारहरूलाई कुवेत सरकारले माफी दिएर काठमाडौं ल्याइदिएको हो।

कुवेत सरकराले यसअघि नै उनीहरूलाई नेपाल ल्याइदिन प्रस्ताव गरेको भए पनि नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगन भएको कारण सरकारले अनुमति दिएको थिएन्।

प्रतिक्रिया दिनुहोस्