मलेसियाबाट नेपाली कामदार फर्काउन चार वटा उडान तय, टिकट मूल्य करीब ६३ हजार

काठमाडौं। मलेसियामा समस्यामा परेका नेपाली कामदारको उद्धार आगामी १ असारबाट शुरू हुने भएको छ। पहिलो चरणमा मलेसियाबाट चार वटा उडानबाट नेपालीहरूलाई काठमाडौं ल्याउन लागिएको छ।

मलेसियास्थित नेपाली राजदूतावासले सूचना प्रकाशन गरेर ७ असारभित्रमा चारवटा उडानमार्फत मलेसियामा रहेका नेपाली कामदारलाई काठमाडौं ल्याउन लागिएको बताएको छ।

१ असारमा नेपाल वायु सेवा निगमको न्यारोबडी विमान नेपाली लिनका क्‍वालालम्पुर जानेछ। त्यसैगरी, ४ असारमा हिमालयन एअरलाइन्सको न्यारोबडी, ६ असारमा निगमको वाइडबडी र ७ असारमा हिमालयन एअरलाइन्सको न्यारोबडी विमान नेपाली कामदार लिनको लागि मलेसियाको क्‍वालालम्पुर जाने दूतावासको सूचनामा उल्लेख छ।

तीन विमानमा नेपाल फर्कन ५२० अमेरिकी डलर (करीब ६३ हजार रूपैयाँ) भाडादर तोकिएको छ। टिकट खरिद गर्नका लागि सम्बन्धित एअरलान्सको कार्यालयमा सम्पर्क गर्नुपर्ने दूतावासले बताएको छ।

दूतावासमा नाम दर्ता गराएका र दूतावासले प्राथमिकता निर्धारण गरेको सूचीको आधारमा मात्रै मलेसियाबाट नेपालीहरू काठमाडौं आउन पाउनेछन्।

दूतावासले सुत्केरी, गर्भवती र बिरामी महिलालाई पहिलो प्राथमिकतामा राखेको छ। सिकिस्त विरामी परेका पुरूष, अध्ययन समाप्त भएका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रही भिसा समाप्त भएका व्यक्ति, रोजगारी भिसामा रही भिसा अवधि समाप्त भएका, कोभिड-१९ मा कारणले रोजगारी गुमाएका व्यक्तिहरूलाई दूतावासले प्राथमिकतामा राखेको छ।

यस्तै, सामान्य बिरामी भएका पुरुष, आफन्तको मृत्यु भई काजकिरिया गर्नुपर्ने व्यक्ति, चेकआउट मेमो र टिकट लिई अलपत्र परेका रोजगारी भिसामा रहेका व्यक्ति र कम्पनीबाट रोजगारीसहित लामो समयको लागि विदा पाएकाहरूलाई नेपाल फर्काउन लागिएको दूतावासले बताएको छ।

तर, मलेसिया सरकारले आम माफीको नीति नल्याएका कारण मलेसियामा कानूनी समस्यामा रहेका नेपाली भने यी उद्धार उडानमार्फत स्वदेश फर्कन नसक्ने दूतावासले बताएको छ।

ती उडानमार्फत नेपाल आउन चाहने व्यक्तिले अनिवार्य रूपमा आरडीटी वा पीसीआर विधिबाट कोभिड-१९ परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने दूतावासको सूचनामा उल्लेख छ।

विदेशमा समस्यामा परेर अलपत्र अवस्थामा रहेका नेपालीलाई उद्धार गरी स्वदेश ल्याउने निर्णय गरेपछि दूतावासहरूले उडान मिति तय गरेर टिकट बुकिङका लागि सूचना प्रकाशन गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्